काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । क्यापिटलले ४ लाख ३८९ कित्ता बिक्री गर्ने भएको छ ।

कम्पनीले गत असार २५ गतेसम्म चुक्ता पूँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १ः०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा आवेदन नपरेको ४ लाख ३८९ कित्ता सेयर लिलामी गर्न लागेको हो।

बोलपत्र  साउन ८ गते देखि साउन २२ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ। उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । बोलकबोल भर्दा  न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापकले यस कम्पनीको ग्लोबल आइएमई बैंकको कमलादी शाखामा रहेको बैंक खाता वा आइसिएफसि फाइनान्सको नक्साल शाखामा रकम बुझाई कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सूचनामा भनिएको छ।