काठमाडौँ । पछिल्लो डेढ महिना यता शेयर बजारमा रौनक देखिएको छ । कोभिड पश्चात् लगभग थला परेको अर्थतन्त्रको मारमा शेयर बजार समेत अछुत रहेन । आम लगानीकर्ता निराशामा भएको बेला शेयर बजारको निराशा पाखा लागेको छ ।

पछिल्लो डेढ महिना यता निरन्तर रूपमा बढेको शेयर बजारलाई धेरैले बुलको यात्रा भनेर संज्ञा दिइरहा छन् । यसो त के बजार साँच्चिकै बुलको यात्रामा हो ? वा बुलमा प्रवेश गर्नलाई आम लगानीकर्ताले के कति कुरामा ध्यान दिनुपर्छ भनेर आर्थिक भ्वाइसले शेयर लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियारलाई सोधेको छ । प्रस्तुत छ उक्त विषयमा रौनीयारको धारणा ।

संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता समीकरणले आम लगानीकर्ताका खुशी थपेको अवस्थामा नयाँ सरकारले विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भन्ने हल्लादेखि नै बजारले गति लिएको हो । त्यसो त उनी शेयर बजारले खोजेको अर्थमन्त्री हुन भन्न कुनै सङ्कोच छैन ।

उनको आगमनसँगै लगानीकर्तामामा आत्मबल बढ्यो र शेयर बजारमा निरन्तर उछाल देखिँदै आएको छ । बजारको लागी सबैभन्दा महत्त्वपूर्ण भनेकै लगानीकर्तामा भएको आत्मबल हो त्यो जगाउने काम अहिलेको सरकार र अर्थमन्त्री विष्णु पौडेल जी ले गर्नुभयो भन्ने मलाई लाग्छ ।

यो समय बजारका लागि आवश्यक पर्ने सबै किसिमको तालमेल मिलेको छ भन्ने लागेको छ । एकातिर बैंकले निरन्तर रूपमा व्याज घटाएको अवस्था छ भने अर्कोतिर मौद्रिक नीति मार्फत संस्थागत तर्फको क्याप तोडिएको छ । अर्थमन्त्री, प्रधानमन्त्री र गभर्नरको तालमेल मिल्दो छ यसकारण बजारले गति लिएको छ र निरन्तर लिन्छ भन्ने विश्वासमा हामी छौ ।

दोस्रो भनेको यहाँले जे सोधिरहनुभएको छ कि बजारले बुलको यात्रा लिएको हो वा बुलमा जान के के कुरामा ध्यान दिने भनेर त्यसको बारे थोरै चर्चा गरौँ ।

पहिलो कुरा त वित्तीय बजारमा बुल भनेको के हो भन्ने विषय नै प्रस्ट हुन आवश्यक छ भन्ने मलाई लाग्दछ । सामान्यतया बुल अङ्ग्रेजी शब्द हो यसलाई हामी वित्तीय क्षेत्रमा बिम्बको रूपमा प्रयोग गछौं । बजारमा बुल भन्नाले बढ्दो बजार साथै बियर भन्नाले घट्दो बजारलाई बुझिन्छ। बियर र बुल अर्थात् नेपालीमा भालु र साँढेलाई बजारमा विम्बका रूपमा प्रयोग गरिएको हो।

साँढे र भालुबिच लडाइ हुँदा साँढेले आफ्नो सिङले धकेल्दै अगाडि बढ्ने र भालुले आफू जोगिँदै पछि पर्दै जाने गर्दछ । त्यसैले बढ्दो बजारलाई साँढे अर्थात् बुल मार्केट’ र घट्दो बजारलाई भालु अथवा ‘बियर मार्केट’ भनेर बुझिन्छ यसकारण यस विषयमा पहिले प्रस्ट हुन आवश्यक छ ।

सेयर बजारमा बुल सुरु भएसँगै कम्पनीको मूल्य निरन्तर बढ्छ। कुनै एक कम्पनी अथवा सेक्टर मात्र नभएर सम्पूर्ण बजार नै बढ्ने गर्छ। यसको सबल पक्ष भनेको बुल मार्केटमा नाफा मात्र नभएर घाटामा भएका कम्पनीहरूको मूल्यमा पनि ठुलो उछाल आउने गरेको छ। बुल मार्केटको अवधि केही महिना हुनुका साथै वर्षौं लामो पनि हुन् सक्छ।तर हाम्रो बजार अहिले बुलको यात्रामा छ भन्न सकिदैन् ।

२७, २८ सयको बिन्दुमा घटबढ भएको हाम्रो बजारले अहिले बुलको यात्रा तय गर्न सक्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । इन्डेक्स निरन्तर बढेको खण्डमा त्यो भन्न सकिन्थ्यो तर घटबढ भएको अवस्थालाई मान्न सकिन्न सामान्यतया ३२ सय सम्मको अवस्था त करेक्सन मात्रै हो त्यो भन्दा अगाडिको बाटो तय गरेको खण्डमा बुलको सम्भावनामा जान सक्छ । तर अहिले बजारमा जुन सकारात्मक लय देखिएको छ यसले निरन्तरता पाएको खण्डमा त्यो दिन पनि टाढा छैन भन्ने लाग्दछ ।

शेयर बजारमा लगानीकर्ताले निम्न कुरामा ध्यान दिन सक्नुपर्छ :

लगानीकर्ताले कम्पनीको वित्तीय विवरणको अध्ययन गर्नु जरुरी छ भन्ने मलाई लाग्दछ । कम्पनीले प्रकाशित गर्ने वित्तीय विवरणलाई लगानीकर्ताले अध्ययन गरेर वित्तीय अवस्था सबल भएका र आम्दानी बढाउँदै लगेका कम्पनीलाई लगानीको लागि छनोट गर्नु उचित हुन्छ ।

त्यस्तै लगानीकर्ताले पूँजीमात्रै बढाउने भन्दा रिजर्भलाई पनि बलियो बनाउने कम्पनी रोजेको राम्रो मानिन्छ । पूँजीमात्रै बढाउने कम्पनीले त्यही अनुसार व्यवसाय विस्तार गर्न नसके पुँजीको भारले थिचेर वित्तीय अवस्था बिग्रन सक्छ।

त्यस्तै अर्को महत्त्वपूर्ण भनेको शेयर बजारमा लगानी गर्दा आफूले बहन गर्न सक्ने जोखिम मात्रै लिनुपर्छ। लगानीकर्ताले कुनै पनि शेयर खरिदबिक्री गर्दा त्यसमा हुनसक्ने जोखिमलाई यकिन गर्नु अत्यावश्यक छ । बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरूको बजारमा चासो बढ्दै जान्छ। पुराना र पहिल्यै शेयर किनेर बसेकाहरू शेयर बजार बढ्दै जाँदा बढेको मूल्यमा शेयर बेचेर बाहिर निस्कन्छन्,  त्यसैले बजार बढ्दै जाँदा लगानीकर्ताले आफूले बहन गर्न सक्ने सम्मको जोखिम मात्रै लिनुपर्छ।

साथै मुख्यतया शेयर बजारमा लगानी गर्दा आफ्नै पुँजी गुमाउने सम्भावना रहन्छ त्यसले गर्दा लगानीकर्ताले बजारको बारेमा पर्याप्त ज्ञान लिनुपर्छ। कम्पनीको आधारभूत र प्राविधिक ज्ञान लिएर बजार छिर्दा गुमाउने सम्भावना कम रहन्छ तर पर्याप्त ज्ञान नहुँदा धेरैजसो पुजिँ सिकाइमा नै गुमाउनु पर्ने डर हुन्छ ।

र अन्तमा पछिल्लो समय लगानीकर्ताहरू अरूको हुटहुटीमा सेयर मार्केटमा हात हालीरहेका हुन्छन् । साथै बुझ्दै नबुझी दोस्रो बजारमा हात हाल्न तम्सिरहेका हुन्छन्  स्टकले नयाँ उचाइ बनाइराख्दा स्टकको प्याट्र तथा स्थानबारे ध्यान बनाइ राख्नुपर्छ