काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज असोज २० गते आइतवरदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

आजबाट बिक्री खुला गरेको खसी बोकाको मूल्य प्रतिकेजी ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार शनिवारसम्म २०८ खसी बोका र तीन सय च्याङ्ग्रा उपत्यका भित्रिसकेको जानकारी दिएकी छिन् । हेटौँडाबाट पहिलो लटमा २०८ खसी बोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनको भनाई छ ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसी बोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसी बोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसी बोका ल्याएर बिक्री सुरु गरिसकेका छन् ।