काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा मेची भन्सार कार्यालयबाट चिया निर्यात ३६ प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्क अनुसार तीन महिनामा ६ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको छ । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । आर्थिक वर्ष २०८०–८१ को यही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घको भनाइ रहेको छ ।
यसैबिच चालू आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा भने ४९ प्रतिशतले गिरावट आएको छ ।
कार्यालयको तथ्याङ्क हेर्दा चालू आर्थिक वर्षको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन मात्रै अलैँची निर्यात भएको छ ।
गत आर्थिक बर्षको यही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।







