काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा निर्यात घट्दा व्यापार घाटा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।
साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकमा उल्लेख छ । भन्सार विभागका अनुसार चालू वर्षको पहिलो महिना गत वर्षको तुलनामा ०.६७ प्रतिशतले आयात घटेको हो ।
गत आर्थिक वर्ष १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो । यस्तै साउन महिनामा नेपालबाट हुने निर्यातमा ९.६३ प्रतिशतको गिरावट आएको छ । यससँगै साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको निर्यात भएको छ ।
गत आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट १३ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएको थियो । नेपालको आयात र निर्यात नै घटेपनि व्यापार घाटा भने बढेको छ । गत वर्षको यही अवधिको तुलनामा ०.३८ प्रतिशतले व्यापार घाटा बढेको हो ।
विभागका अनुसार गत साउनमा भारतसँग मात्रै ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा छ । साउनमा भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको वस्तु आयात गर्दा नेपालले ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको मात्र वस्तु निर्यात गरेको विभागको तथ्यांक छ ।
गत वर्ष १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा थियो । जुन यो वर्षको पहिलो महिनामा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । नेपालको आयातको तुलनामा निर्यात धेरै घट्दा घाटा चुलिएको हो ।








