काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा नेपालले करिब ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागका तथ्यांक अनुसार यस अवधिमा साढे १४ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँको घाटा देखिएको हो।

गत वर्षको तुलनामा व्यापार घाटा ११.२२ प्रतिशतले वृद्धि भएको छ। सोही अवधिमा गत वर्ष नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो। यस अवधिमा नेपालका वैदेशिक व्यापारमा कुल वृद्धिदर १३.५५ प्रतिशत पुगेको छ।

फागुन मसान्तसम्म देशले १४ खर्ब ८० अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो। आयात र निर्यात दुवैमा सुधार देखिएको छ। आठ महिनामा करिब १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही अवधिको ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँभन्दा १२.५४ प्रतिशतले बढेको हो।

त्यस्तै, निर्यात करिब १ खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको तुलनामा २०.८३ प्रतिशतले वृद्धि हो। निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढिरहेको संकेत दिएको छ।

यद्यपी निर्यातको उच्च वृद्धि दरले व्यापार घाटा कम गर्न खासै प्रभाव नपुर्याएको विभागले जनाएको छ। चालु आर्थिक वर्षमा नेपालले १५५ देशसँग वैदेशिक व्यापार गरेको छ। यसमध्ये २९ देशसँग व्यापार नाफामा रहेको छ भने १२६ देशसँग व्यापार घाटामा रहेको छ। निर्यात वृद्धिलाई अझ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादनको प्रवर्धन, उत्पादन विविधीकरण र आयात प्रतिस्थापनमा ध्यान दिनुपर्ने जानकारहरुको भनाई छ।