काठमाडौँ ।  विभिन्न देशमा ६ महिनाको अवधिमा ३१.८ प्रतिशतले निर्यात बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७.२ प्रतिशतले कमी आएको थियो। निर्यात बढे पनि ६ महिनामा कुल वस्तु व्यापार घाटा भने ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ । तर यस अगाडि बढेको पाम तेल, जिंक शिट, अदुवा, तयारी पोसाक, जडीबुटी लगायतका वस्तुको निर्यात भने यस पटक घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको तथ्याकंमा उल्लेख छ ।

वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल, धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.६ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ७६ अर्ब २५ करोड बराबरको भएको थियो ।