काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वस्तु व्यापार मिश्रित अवस्थामा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात वृद्धि दर ५७.२ प्रतिशत रहेकोले चालु वर्षमा वृद्धि कायम रहे पनि विस्तारको गति केही सुस्त भएको देखिन्छ। गन्तव्यका आधारमा भारततर्फ निर्यात २५.३ प्रतिशत र अन्य मुलुकतर्फ ७.८ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात भने ५३.७ प्रतिशतले घटेको छ।

वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटजन्य सामग्री र चाउचाउजस्ता वस्तुको निर्यात बढेको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यातमा गिरावट आएको छ।

यसैबीच, सोही अवधिमा कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ११.२ प्रतिशतले बढेको थियो, जसले चालु वर्षमा आयात वृद्धि दर केही तीव्र भएको संकेत गर्छ। मुलुकगत रूपमा भारतबाट आयात ५.१ प्रतिशत, चीनबाट २१.२ प्रतिशत र अन्य मुलुकबाट २६ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका साधन तथा तिनका पार्टपुर्जा, सवारी साधन, दूरसञ्चार उपकरणलगायतका वस्तुको आयात बढेको छ। तर खाने तेल, हट रोल्ड शिट (इन क्वाइल), लसुन, दाल र एमएस विलेटजस्ता वस्तुको आयातमा भने कमी आएको छ।