काठमाडौँ । चालु आर्थिक वर्षको ४ (साउन, भदौ, असोज, कार्तिक) महिनासम्ममा नेपालको व्यापार ०.२६ प्रतिशतले गिरावट आएको छ ।

चार महिनाको अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबर रहेको छ। गत वर्षको सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । गत वर्षको तुलनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको हो।

भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार पछिल्लो ४ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

नेपालको व्यापारमा गिरावट आएको भए पनि वैदेशिक व्यापारमा भने ०.५३ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको ४ महिनासम्ममा मुलुकले ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको तुलनामा कूल आयात ०.१७ प्रतिशतले बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक मसान्तसम्म नेपालको निर्यात ४.१६ प्रतिशतले बढेको छ। विभागका अनुसार सो अवधिमा नेपालबाट ५२ अर्ब ६७ करोड ७ लाख बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको ४ महिनाको अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकमा उल्लेख छ ।