काठमाडौँ । यस साताको पहिलो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ कीर्तिमानी कायम गरेको छ । गत शुक्रवार स्थिर रहेको सुनको मूल्य आइतबार आजसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत कात्तिक ७ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ८५ रुपैयाँ पुगेको छ । नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य १३.६६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७४८.०९ डलरमा कायम भएको छ ।