काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म निर्जीवन कम्पनीहरूले ११ अर्ब ३८ करोड रुपैयाँ बढीको कुल बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन कम्पनीहरूले चालु आर्थिक वर्षको ३ महिनामा कुल ६ लाख ६८ हजार १४० वटा बीमालेख जारी गर्दै ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा निर्जीवन कम्पनीहरूको बीमा शुल्क संकलन ९.०२ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको तुलनामा १० वटा कम्पनीको व्यापारमा बढोत्तरी भएको छ । भने ४ वटाको व्यापारमा गिरावट आएको छ। सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। कम्पनीले १ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो। यो बीमाशुल्क अघिल्लो वर्षको यही अवधिको तुलनामा भने ९.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९० करोड ९लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
साथै, ओरिएण्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजीले ७५ करोड, युनाइटेड अजोडले ६८ करोड, नेपाल इन्स्योरेन्सले ६१ करोड, सानिमा जिआईसीले ५८ करोड, राष्ट्रिय बीमा कम्पनीले ५७ करोड, प्रभु इन्स्योरेन्सले ४७ करोडको बीमा शुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।








