काठमाडौँ । सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाएपछि निजी क्षेत्रका तीन संस्थाले त्यसको स्वागत गरेका छन् । नेपाल सुनचाँदी रत्न ,नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा आभूषण संघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा विज्ञप्तीमार्फत् सरकारलाई धन्यवाद दिएका हुन् ।
सरकारले आइतबार नेपाल राजपत्रमा सुचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको आयातमा लगाउँदै आएको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा तथा चाँदीको भन्सार दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत झारेको थियो ।
भन्सारदर घटेको कारण सुनको मूल्य सस्तिएको हो, दैनिक उतारचढाव कायम छ: महासंघ
नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष किसान सुनार,नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल हस्तकला महासंघका कार्यवाहक अध्यक्ष सनम शाक्यले जारी गरेको संयुक्त विज्ञप्तिमा सोही माग राख्दै महासङ्घहरूद्वारा शान्तिपूर्ण विरोधका कार्यक्रमसहित नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको स्मरण समेत गरेको छ ।
सरकारको यो कदमले निर्यात प्रवर्द्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदिमा महत्त्वपूर्ण योगदान लगायत नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको विज्ञप्तीमार्फत् जनाएका छन् ।