काठमाडौँ । सामान्यतया तरलता भनेको एक प्रकारको सम्पत्तिलाई कुनै अवरोध वा नोक्सानी विना अर्को प्रकारको सम्पत्तिमा परिवर्तन गर्न सक्ने क्षमता हो। नगद, बजारयोग्य सुरक्षा पत्रहरू, बैंकमा भएको चल्ती तथा बचत निक्षेप, र अन्य चल सम्पत्तिहरू तरल सम्पत्ति हुन्। अर्को अर्थमा तरलता भनेको बैंकिङ तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा पनि बुझ्ने गरिन्छ ।

पछिल्लो समय बजारमा अधिक मात्रामा तरलता बढेको छ । तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले पछिल्लो तीन महिनामा ७८ खर्ब बढीको तरलता प्रशोचन गरेको छ। यद्यपि अधिक तरलताको स्थितिलाई नराम्रो मान्न नहुने जानकारहरूको भनाई छ। यसका लागि लगानीयोग्य वातावरण बनाउने काम सरकार र केन्द्रीय बैङ्कको हो । यस्तो अवस्थामा सरकारले केही मध्यकालीन ऋणपत्रहरू जारी गरेर त्यसलाई विकास निर्माणमा लगाउन सकिने उनीहरूको व्याख्या छ ।

राष्ट्र बैंकले तीन महिनाको अवधिमा निक्षेप संकलन बोलकबोल मार्फत ५ खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड  गरी कुल ७८ खर्ब ३३ अर्ब ४० करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरूमार्फत खुद ३ खर्ब ६३ अर्ब ४५ करोड तरलता प्रवाह भएको थियो । केन्द्रीय बैङ्कले रियल इस्टेट र घरजग्गाको लगानीलाई हालसम्म ब्यालेन्ससीट समायोजनको राहत प्रदान गरिरहेको हुँदा यो क्षेत्रले केही राहत महसुस गरेको देखिएजस्तो भए पनि यो क्षेत्रको समस्या अझै जस्ताको तस्तै नै छ ।

बैङ्क तथा वित्तीय क्षेत्रमा अधिक र न्यून तरलताको स्थिति आउनु/नआउनुलाई सामान्य प्रक्रिया मानिन्छ। लगानीयोग्य रकम थुप्रिँदै जानु वा लगानी हुन नसकी बैङ्क र वित्तीय संस्थासित नगद थुप्रनु अथवा निक्षेपका तुलनामा कर्जा लगानी हुन नसकेको अवस्था देखिनु अधिक तरलताको अवस्था हो । यस्तो अवस्था सधैँ रहिरहन सक्दैन ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ४७ करोड खुद खरिद गरी १ खर्ब ९६ अर्ब ७९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २६ करोड खुद खरिद गरी १ खर्ब ६६ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो।

यस अवधिसम्म अमेरिकी डलर ८२ करोड २० लाख बिक्री गरी १ खर्ब १५ अर्ब ६६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। राष्ट्रबैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

बैंकिङ प्रणालीमा बढी भएको तरलता केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा चाहिने तरलता पठाउने, अधिक भएको समयमा प्रशोचन गर्ने कार्य खुला बजार कारोबार हो । राष्ट्र बैंकले खुला बजार कारोबार मार्फत तरलता प्रवाह गर्ने रिपो र सोझै खरिद उपकरण प्रयोग गर्छ । तरलता प्रशोचनका लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन उपकरण र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्ने गर्छ ।