काठमाडौं । नेपाली महिला वर्षा बस्नेत ‘टीभीएस मोटोसोल २०२४’ को १२५ सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल भएकी छिन् ।

टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल महोत्सवमा नेपाली प्रतिस्पर्धी विजेता हुनु नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्त्वपूर्ण सफलता मानिएको छ । विगत चौथौ संस्करणसम्म आइपुग्दा यसले मानिस र मेसिनबीचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको छ ।

‘टीभीएस मोटोसोल, इट्स मोर देन अ फेस्टिभल, इट्स ए फिलिङ’ भन्ने नारासहित आयोजित यो महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असीमित उत्साहले भरिदिएको आयोजकहरूको दाबी छ ।

महोत्सवको यस चौथो संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम तथा राइडिङ संस्कृतिका विविध पाटाहरूलाई उत्सवका रूपमा मनाउने अवसर प्रदान गरेको छ । विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको यस महोत्सवले मोटर स्पोर्टसका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोका रूपमा आफूलाई स्थापित गर्दै गइरहेको छ ।

वर्षा बस्नेतको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको नक्सामा झन् मजबुत रूपमा प्रस्तुत गरेको छ । टीभीएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई उनी आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सफल भएकी छन् ।

टीभीएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करणहरू प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्ध रहेको आयोजकले बताए ।