काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरण अन्तर्गत पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुुद्दा दर्ता गर्ने भएको छ ।

कार्यालयले पहिलो चरण अन्तर्गत सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको हो । प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको छ ।

बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी भएका सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

सुरुमा पक्राउ पुर्जी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।

प्रहरीले सूर्यदर्शन सहकारीका वचतकर्ताको रकम हिनामिनाका विषयमा लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले असोज १९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

तर, फेरि जाहेरी परेकाले अभियोजन पेश गर्न लागिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।