काठमाडौँ । असोज मसान्तसम्म नेपालको ऋण २५ खर्ब भन्दा बढी पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असोज मसान्तसम्म नेपालको ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ भन्दा बढी छ ।
यो ऋण नेपालको कुल गार्हस्थ उत्पादनको ४४ प्रतिशतभन्दा बढी हो। त्यसमा आन्तरिक ऋणको हिस्सा २१.६८ र बाह्य ऋणको हिस्सा २२.५६ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ ।
नेपालले सबैभन्दा धैरै ऋण विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट लिएको छ । भने दोस्रोमा एशियाली विकास बैंक (एडीबी) को छ । नेपालको क्रमशः आईडीएसँग ४८.८६ र एडीबीको ३२.४० प्रतिशत ऋण रहेको छ ।
देशको कुल ऋणलाई जम्मा जनसङ्ख्यासँग हिसाब गर्दा गत असोज मसान्तसम्मको अवस्थामा प्रत्येक नेपालीको भागमा ८६ हजार ५ सय १० रुपैयाँ ऋण पर्ने देखिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत कात्तिकको तुलनामा मंसिरमा सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैयाँले घटेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो महिना (कात्तिक) सम्म २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ थियो ।
एक महिनामै सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा ६२ अर्ब ४५ करोड बराबर खर्च गरेको छ । ऋण प्राप्तिभन्दा भुक्तानी बढी हुँदा यस महिना सार्वजनिक ऋण आकार घटेको कार्यालयको तथ्यांकले देखाएको छ ।
मंसिर मसान्तसम्म १ खर्ब ७० अर्ब ५९ करोड बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी भएको छ । कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको साँवा–ब्याज तिर्न १ खर्ब ८ अर्ब १४ करोड खर्च भएको थियो ।







