काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज आइतबारका दिन चालु आर्थिक वर्ष २०८०-८१ को फागुनसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ।

तथ्याङ्क अनुसार नेपालको सार्वजनिक ऋण २२ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। नेपालले भुक्तानी गर्न बाँकी उक्त ऋणमा ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ खर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण रहेको छ।

नेपालले चालु आर्थिक वर्ष २०८०-८१ को पछिल्लो ८ महिनामा २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ थप ऋण लिएको छ । सरकारले लिएको ऋणमा आन्तरिकतर्फ १ खर्ब ४६ अर्ब ६४ करोड र बाह्य ऋण २८ अर्ब ८६ करोड रुपैयाँ चालु आवको फागुनसम्ममा भुक्तानी गरेको छ ।

त्यस्तै सरकारले पछिल्लो आठ महिनामा १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड रुपैयाँ बाह्य ऋण थप गरेको छ । सरकारलाई आन्तरिक ऋणको हालसम्मको दायित्व ११ अर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ छ भने बाह्य ऋणको दायित्व १२ खर्ब २ खर्ब ७३ करोड रहेको पनि तथ्याङ्कले देखाएको छ ।

यस्तो ऋण लिएबापत सरकारले १ खर्ब २६ अर्ब ३ करोड रुपैयाँ सावा मात्रै भुक्तानी गरेको छ भने ब्याज भुक्तानी ४९ अर्ब ४७ करोड रुपैयाँ रहेको पनि तथ्याङ्कमा समावेश छ ।