काठमाडौँ । तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको र आर्थिक हिनामिनाको आशंका भएको भन्दै कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको कारण देखाएर राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप फिर्ता गर्न थालेको छ ।

समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकको नियन्त्रणमा रहेको उक्त बैंकले बिरामी, वृद्ध र बालबालिकालाई विशेष प्राथमिकतामा राख्दै प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गर्न सुचारु गरेको एक सूचना मार्फत जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाले बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेस गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले पुस १७ गतेदेखि नै निक्षेप फिर्ता गर्न थालेको सूचनामा उल्लेख छ ।

पुस १७ गते बुधवार विभिन्न १६ शाखाबाट निक्षेप फिर्ता गरेको बैंकले पुस १८ गते बिहीबार (आज) १९ शाखाबाट रकम फिर्ता गर्ने जानकारी दिएको छ । बैंकले तोकिएको शाखाहरूबाट बिहान ११ बजेदेखि भुक्तानी गर्न सुरु गरेको हो ।

राष्ट्र बैंकले उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूह पठाएको छ। समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा सदस्य  रहेका छन् ।