काठमाडौँ। नेपालबाट हुने निर्यातमा उत्साहप्रद वृद्धि देखिएको छ । पछिल्लो ६ महिनाको अवधिमा नेपाली वस्तुहरूको निर्यात ३१.७८ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा भटमास र सूर्यमुखी तेलको निर्यात उलेख्यरूपमा बढेको छ। भटमास तेलको निर्यात यस अवधिमा ४४.५५ गुणा र सूर्यमुखी तेलको निर्यात ३४.५७ गुणाले बढेको हो।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ६ महिनामा भटमासको तेल १८ अर्ब ९१ करोड रुपैयाँ र सूर्यमुखी तेल ४ अर्ब ९८ करोड रुपैयाँको निर्यात गरिएको छ। साउनदेखि पुससम्म ६ महिनामा नेपालबाट ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा ७४ अर्ब ९७ करोड बराबरको माल वस्तु निर्यात भएको थियो ।
चालू आवको निर्यातमा भटमास र सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, ऊनी गलैँचा कार्पेट, अलैँची, तयारी कपडा, प्लाइउड, फलामे पातालगायतको योगदान उच्च रहेको छ । मंसिर र पुसमा भटमास र सूर्यमुखी तेलको निर्यात उच्च दरले बढेको विभागको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिसम्म भटमासको तेल ९ करोड ९ लाख ८३ हजार केजी र सूर्यमुखी तेल २ करोड १२ लाख ६८ हजार लिटर निर्यात भएको छ। गत वर्ष ६ महिनामा भटमासको तेल ४१ करोड ५१ लाख र सूर्यमुखी तेल १४ करोड रुपैयाँको निर्यात भएको थियो।
भटमास र सूर्यमुखी तेलको निर्यात पुसमा ह्वात्तै बढेको देखिन्छ। चालु आर्थिक वर्ष ५ महिनामा भटमासको तेल ८ अर्ब ३६ करोड र सूर्यमुखी तेल २ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएकामा पुसमा उल्लेख्यरुपमा बढेको विभागको तथ्यांक छ।
भारतले कच्चा तेलको आयात महसुल २० प्रतिशत बनाएपछि नेपालबाट भटमास र सूर्यमुखी तेलको निर्यात भारतीय बजारमा बढेको हो। चालू आवकै सुरुवाती महिना साउन, भदौ र असोजमा गत वर्षको सोही महिनाको तुलनामा निर्यात घटेको भए पनि कात्तिक, मंसिर र पुसमा एकाएक उछाल आएको हो ।
६ महिनाको अवधिमा ऊनी गलैँचा कार्पेट पाँच अर्ब ६१ करोड, अलैँची चार अर्ब ५७ करोड, तयारी कपडा चार अर्ब ३८ करोड, प्लाइउड चार अर्ब २४ करोड, फलामे पाता चार अर्ब आठ करोड, फलफूलको जुस तीन अर्ब ४५ करोड, चिया तीन अर्ब १७ करोड, जुटका कपडा दुई अर्ब ५९ करोड, कुकुर–बिरालोको खाना एक अर्ब ८१ करोड, निर्यात भएको छ ।







