काठमाडौं । सरकारले सस्तो ब्याजदरमा लामो अवधिको ऋण उठाएको छ । बिहीबार केन्द्रीय बैंकले ६.३५ प्रतिशतको ब्याजदरमा ६ वर्षका लागि १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको हो ।
राष्ट्र बैंकले असार २२ गते बिक्री गर्नेगरी १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ च जारी गरेको थियो । बिहीबार दिउँसो भएको बोलकबोलमा ९४ आवेदकले कूल २९ अर्ब ४७ करोडका लागि आवेदन दिएका छन् । सरकारले कूल बिक्री गर्न चाहेको ऋणपत्रको परिमाण भन्दा झण्डै तीन गुणा बढी आवेदन परेको हो । यसले बजारमा अधिक तरलता रहेको पुुष्टि गर्छ । बजारमा लगानीको वातावरण नभएपछि बैंक तथा वित्तीय संस्था, आम नागरिकले समेत सरकारी बण्डमा सस्तो ब्याजदरमा पैसा लगानी गर्न बाध्य भएका हुन् ।
उसो त सरकारी बण्डमा लगानीको भिड बढेसँगै यता ब्याजदर समेत घट्न पुुगेको छ । यसअघि असार ५ गते ६.९३ प्रतिशत ब्याजदरमा १० अर्ब रुपैयाँ ऋण उठाएको केन्द्रीय बैंकले पछिल्लो पटक ६.३५ प्रतिशतमै थप १० अर्ब रुपैयाँ उठाएको हो । यद्यपि, उक्त विकास ऋणपत्र भने भोलि शुक्रबार बिक्री हुनेछ ।