काठमाडौंं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पार्टीका नेताहरूका घुँडा भाँच्ने र गाउँ गाउँबाट लखेट्नुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका छन् ।
प्रसाईँले पत्रकार सम्मेलन मार्फत राष्ट्र बचाउन राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुको विकल्प नरहेको भन्दै राजा फर्काउन साथ दिन आग्रह गरेका छन्। अहिलेको समय राजा र दुर्गा प्रसाँइको भएको दाबी गर्दै उनले राजाले जसरी रक्तपातविहीन दरबार छाडेझैँ नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न चेतावनी दिएका हुन् ।
‘यदि राजनैतिक दलहरूले नछाडे राजा र मैले आन्दोलन घोषणा गरेका दिन तिमीहरूको हालत के हुन्छ सोच्नुपर्ने हुन्छ’, उनले भने साथै, फागुन २५ गते पूर्व राजालाई निर्मल निवास पुर्याउने र त्यो शान्तिपूर्ण हुने उनको भनाई छ ।
सम्मेलनमा प्रसाईँले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा समेत अहिले राजतन्त्रको पक्षमा बहस गर्न थालिसकेको बताएका छन् । जसरी पनि राजा आउने र यो व्यवस्था परिवर्तन गरेर छोड्ने भन्दै प्रहरीले साथ दिए त्यस दिन प्रहरीको एक लाख तलब बनाउने समेत घोषणा समेत गरेका छन् ।
‘दुर्गा प्रसाईँले थालेको अभियान एक आगोको झिल्को हो यो बढदै जान्छ, देश भनेको राजा हो, धर्म हो अनि राजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको वंश हो’ मेरो प्राण राजसंस्था र हिन्दु धर्म पुनर्स्थापना गर्ने र २० लाख सम्मको ऋण मिनाहा गरी दिने हो, प्रसाईँले भने ।
‘२५ गते राजा आउँदै हुनुहुन्छ । नेपालभरिबाट स्वागत गर्न एयरपोर्ट जाऔँ’, समर्थकलाई आह्वान गर्दै प्रसाईँले भने,‘अब नेताको घुँडा भाँच्नुपर्छ, नेतालाई गाउँ गाउँ र सहर सहरबाट लखेट्नुपर्छ’







