काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै आइतबारदेखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ। राष्ट्र बैंकका गभर्नर अधिकारीले शनिवारदेखि अवकाश पाइसकेका छन् ।
सरकारले हालसम्म कार्यवाहकको जिम्मेवारी न कसैलाई दिएको छ । राष्ट्र बैंक ऐनअनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया १ महिना अगावै गभर्नरको पदमा नियुक्ति गर्नुपर्ने व्यवस्था छ।
गभर्नरको पद रित्त हुँदासम्म सरकारले नयाँ गभर्नर नियुक्त गरेको छैन । तथापि, आज राम नवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने ऐनमा व्यवस्था छ । कार्यवाहक अर्थ मन्त्रालयले तोक्ने वा मन्त्रिपरिषद्ले नै तोक्ने भन्ने ऐनमा प्रस्ट प्रावधान भने छैन ।
राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर सिफारिस गर्दा एक जना डेपुटी गभर्नर सिफारिस गर्नै पर्ने भएकाले हाल रहेका दुई डेपुटी गभर्नर स्वतः आकांक्षी देखिएका छन् । उनीहरूबाहेक विभिन्न बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीइओ) , राष्ट्र बैंककै केही पूर्वकार्यकारी निर्देशकहरू तथा केही पूर्व प्रशासकहरू केन्द्रीय बैंकको १८औँ गभर्नरको दौडमा देखिन्छन्।
ऐनले नै उल्लेख गरेपछि गभर्नर पदका मुख्य आकांक्षी राष्ट्र बैंककै दुवै डेपुटी गभर्नर हुने नै भए। त्यसैले वरीयताका आधारमा गभर्नरको लाइनमा डा.नीलम ढुंगाना अगाडि मानिन्छिन्। ढुंगाना नेपालको पहिलो महिला गभर्नर बन्ने सम्भावना हुनुको पछाडि उनको आफ्नै मिहिनेत त छँदै छ। त्यसबाहेक पनि उनी सत्तारुढ नेकपा एमालेसँग नजिक र सत्ता साझेदार नेपाली कांग्रेसले पनि उनको नाममा आपत्ति नजनाउने संकेत गरेका कारण बलियो उम्मेदवार मानिएकी छिन्।
१८औँ गभर्नरको अर्को बलियो प्रतिस्पर्धी हुन्, राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठ। उनी पनि राष्ट्र बैंककै क्याडर हुन्। अर्थमन्त्री विष्णु पौडेलनिकट मानिएका श्रेष्ठले कार्यकारी निर्देशकको रूपमा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा लामो समय काम गरेका छन्।
यस्तै, गभर्नर पदमा अर्का बलिया प्रतिस्पर्धीको रूपमा राष्ट्र बैंककै कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट मानिन्छन्। उनी नेपाली कांग्रेसमा पनि विशेषतः संस्थापन पक्ष अर्थात् शेर बहादुर देउवानिकट मानिन्छन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा गोल्ड मेडलिस्ट भट्ट हाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख छन्।
यीबाहेक गभर्नर पदका आकांक्षीमा राष्ट्र बैंककै क्याडर तथा हाल सञ्चालक सदस्य रविन्द्र पाण्डे पनि छन्। नेपाली कांग्रेस संस्थापननिकट पाण्डे राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन्। राष्ट्र बैंकको सञ्चालकमा उनीभन्दा अगाडि नियुक्त चिन्तामणि सिवाकोटी पनि राष्ट्र बैंककै क्याडर थिए। त्यसैले पाण्डे सञ्चालक हुने सम्भावना निकै कम थियो। त्यसैले पाण्डे राष्ट्र बैंकको सञ्चालक सदस्य नियुक्त हुँदा नै भावी गभर्नर बनाउन ल्याइएको चर्चा चलेको थियो।







