काठमाडौं । गत साता २६२३.८३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४४ प्रतिशत अर्थात ३७.८१ अंक बढेर २६६१.६४ विन्दुमा पुगेको छ। समग्रमा यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने २ कारोबार दिन बढेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ६.८९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंक बढेको छ।
गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.०८ प्रतिशत बढेको हो। नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ९ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ५६ करोडको शेयर किनबेच भएको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।
यस साता १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१३ प्रतिशत बढेको छ। गत साता २३९७.७९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४६.९८ अंक बढेर २५४४.७७ विन्दुमा पुगेको छ।
अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १२ हजार २३१.६२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४१३.५१ अंक बढेर १२ हजार ६४५.१३ विन्दुमा पुगेको छ।
यस साता नेप्सेमा ११ लाख ८४ हजार ६८६.६० कित्ता सूचीकृत भएको छ। यस साता आरएसडिसी लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलोपर्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
यस साता नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६१.०४ प्रतिशत बढेको छ। गत साता १ हजार ३८७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य, यस साता २ हजार २३४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।