काठमाडौँ। निर्जीवन बीमा कम्पनीहरूले एक महिनामै करिब ४ अर्ब रुपैयाँ व्यापार भित्र्याएका छन्। चालु आर्थिक वर्ष २०८१।८२ को जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्।
नेपाल बीमा प्राधिकरण तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले जेठमा मात्रै कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री गरेर उक्त रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै व्यापार भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिमा ४६ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै, एक महिनाको अवधिमा ४३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स धेरै व्यापार गर्नेको सूचिमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इनस्योरेन्सले जेठ महिनामा ४२ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
प्राधिकरणको तथ्यांक अनुसार जेठ महिनामा शिखर इनस्योरेन्स कम्पनीले ४० करोड ९० लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ९९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३२ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ३१ करोड ९० लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले २६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
साथै बाकी रहेका नेपाल इन्स्योरेन्सले जेष्ठ महिनामा १५ करोड ५७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २५ करोड ६२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १६ करोड ८५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड १३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १४ करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको तथ्याकंमा उल्लेख छ ।







