काठमाडौँ । बुधवार समातिएको झण्डै एक क्विन्टल तस्करीको सुनबारे व्यापारी दिपककुमार मल्होत्राले प्रष्टीकरण दिएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मल्होत्राले बरामद सुनबारे आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका हुन् ।

व्यापारी मल्होत्राले तस्करीको सुनबारे आफ्नो कुनै संलग्नता नभएको दावी गरे । उनले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको बताए ।

‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मल्होत्राले भनेका छन् ।

उनले आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानुन बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको पनि बताएका छन् ।

सुन तस्करीमा संलग्न भएको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको उनले बताए । त्यस्तै उनले आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको पनि बताए ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट मिलेमतोमा बाहिरिएको करीब एक क्वीन्टल सुन आन्तरिक राजश्व कार्यालयले बरामद गरेको थियो ।