काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८२ को एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन साढे १२ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार सोही अवधिमा निजी क्षेत्रमा कर्जा लगानी पनि ८.४ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२ को असार मसान्तसम्ममा बैंकिङ क्षेत्रमा अघिल्लो आवको भन्दा ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँले निक्षेप बढेको हो। अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत अर्थात् ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँले बढेको थियो।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमध्ये चल्ती खातामा ७.१ प्रतिशत, बचतमा ३६.८ प्रतिशत र मुद्दती निक्षेपमा ४८.३ प्रतिशत हिस्सा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको थियो ।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ । अघिल्लो आव २०८१ असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.२ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूको ६.१ प्रतिशतले र फाइनान्स कम्पनीहरूको ८.४ प्रतिशतले बढेको छ।
साथै, आव २०८१/०८२ मा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ८.४ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत अर्थात् २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँले बढेको थियो ।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ । भने कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ।
गत आवमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ५१.१ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले र डिमान्ड तथा चालू पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ ।







