काठमाडौं । सन् २०२५ को अगष्टमा हवाई मार्गमार्फत ८८ हजार ६८० जना पर्यटक नेपाल घुम्न आएका छन् । यो संख्या गत वर्षको सोही महिनामा नेपाल आएका पर्यटकहरूको तुलनामा २२ प्रतिशतले बढी हो ।
नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार भारतबाट सबैभन्दा बढी ३५ हजार ५०५ पर्यटक (४० प्रतिशत) भित्रिएका छन् । चीनबाट ७ हजार ५३३ (८.५ प्रतिशत), अमेरिकाबाट ६ हजार ६८ (६।८ प्रतिशत), श्रीलंकाबाट ५ हजार ९५६ (६.७ प्रतिशत) र बंगलादेशबाट ४ हजार २६२ (४.८ प्रतिशत) पर्यटक नेपाल आएका छन्।
“कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानको अवस्थामा छ। भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि पर्यटकको संख्या वृद्धि भएको देखिन्छ। आगामी समयमा निरन्तर वृद्धि हुनेमा हामी आशावादी छौं, ” बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
२०२५ को जनवरीदेखि अगष्टसम्मको आठ महिनाको अवधिमा कुल ७ लाख ३६ हजार ५६२ विदेशी पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली मुलुकबाट ५३ प्रतिशत, एसियाका अन्य मुलुकबाट १७.८ प्रतिशत, युरोपबाट १२.६ प्रतिशत, अमेरिकाबाट ८.२ प्रतिशत, ओसेनियाबाट २.७ प्रतिशत, मध्यपूर्वबाट १.१ प्रतिशत, अफ्रिकाबाट ०.४ प्रतिशत र अन्य मुलुकबाट ४.१ प्रतिशत पर्यटक आएका छन्।






