काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वाणिज्य बैंकहरूले घर जग्गामा करिब २ खर्ब २५ अर्ब ९१ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, यो गत वर्षको सोही अवधिको तुलनामा सामान्य ०.०२ प्रतिशतको घटबढ मात्र हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकवार विवरण हेर्दा, नेपाल बैंकले कार्तिक मसान्तसम्म १० अर्ब १४ करोड ३२ लाख रुपैयाँ घर जग्गामा लगानी गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २६.४९ प्रतिशतले कम हो।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ६७ करोड ८६ लाख, नबिल बैंकले २२ अर्ब ९५ करोड ६८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २३ अर्ब ८८ करोड ५६ लाख र स्ट्याण्डर्ड चाटर्ड बैंकले ७ अर्ब १९ करोड ८९ लाख रुपैयाँ घर जग्गामा लगानी गरेका छन्।
त्यसैगरी, हिमालयन बैंकको लगानी ११ अर्ब ४८ करोड ८३ लाख, नेपाल एसबीआई बैंकको ४ अर्ब ३ करोड ९ लाख, एभरेष्ट बैंकको ८ अर्ब ६ करोड ७४ लाख, एनआईसी एसिया बैंकको २२ अर्ब ८३ करोड २९ लाख, माछापुच्छ्रे बैंकको १ अर्ब ५९ करोड ३६ लाख, कुमारी बैंकको ७ अर्ब ६२ करोड २६ लाख, लक्ष्मी सनराइज बैंकको १५ अर्ब ४६ करोड ५३ लाख र सिद्वार्थ बैंकको ४ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै सोही समयमा कृषि विकास बैंकको २ अर्ब ५८ करोड ३८ लाख, ग्लोबल आईएमई बैंकको १७ अर्ब ४१ करोड ६९ लाख, सिटिजन्स बैंकको ३ अर्ब ९७ करोड १२ लाख, प्राइम बैंकको २३ अर्ब ६८ करोड ७७ लाख, एनएमबी बैंकको ५ अर्ब ११ करोड, प्रभु बैंकको १६ अर्ब ७५ करोड ९ लाख र सानिमा बैंकको ७ अर्ब ११ करोड ९५ लाख रुपैयाँ घर जग्गामा लगानी भएको छ।

प्रस्तुत तथ्यांक अनुसार अधिकांश बैंकहरुको घर जग्गा लगानीमा गिरावट आएको छ, तर कुल लगानी रकम करिब गत वर्षको स्तरमै स्थिर रहेको देखिएको छ ।








