काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। माघ २० गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

सभा फागुन १७ गते बिहान १० बजेबाट काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनमा सुरु हुनेछ। सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७ रुपैयाँ ८४ पैसा नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।

यससँगै, कम्पनीको हालको चुक्तापूँजी बराबरकै हकप्रद सेयर जारी गर्ने, पूँजी संरचनामा आवश्यक परिवर्तन गर्ने र नियामक निकायबाट कुनै संशोधनको निर्देशन आएमा सोहीअनुसार अघि बढ्न सञ्चालक समितिलाई अधिकार दिने विषय पनि छलफलमा रहनेछ।

त्यसैगरी अध्यक्षबाट पेश हुने वार्षिक प्रतिवेदनमाथि विचार गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा लैजाने तयारी छ। साधारण सभामा सञ्चालक नियुक्तिको अनुमोदन समेत गरिनेछ।

लाभांश वितरणका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम रहेका सेयरधनी मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।