काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ३९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आवको यसै अवधिको तुलनामा १३ प्रतिशतले बढी हो। गत आवको पुस मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीले २ अर्ब ९३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ३२.३९ प्रतिशतले बढी हो। गत आवको यसै अवधिमा कम्पनीले २ अर्ब २१ करोड बीमा शुल्क संकलन गरेको थियो।
त्यस्तै, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ३२.३९ प्रतिशतले बढी हो। गत आवमा कम्पनीले २ अर्ब २१ करोड ८७ लाख खुद ब्याज आम्दानी गरेको थियो। कम्पनीको यस अवधिमा कर्जा तथा लगानीबाट प्राप्त हुने आम्दानी ६९ करोड १९ लाख रुपैयाँबाट ७.२६ प्रतिशतले बढेर ७४ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको कुल आम्दानी १७.१८ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै कुल खर्च पनि १७.६० प्रतिशतले वृद्धि भएको छ। साथै अभिकर्ताहरूलाई दिने कमिशनमा १७.८९ प्रतिशतको वृद्धि भएको छ। यस अवधिसम्ममा कम्पनीले २ अर्ब १० करोड ८९ लाख रुपैयाँ लगानी गरेको यस कम्पनीको सम्पत्तिको कुल मूल्य २३ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि रहेको छ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ११ अर्ब ५३ करोड २३ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको भने प्रतिशेयर आम्दानी १५.१० रुपैयाँबाट बढेर १५.७७ प्रतिशत कायम भएको छ भने महाविपत्ति कोषमा करीब २६ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ६१ करोड ६६ लाख रुपैयाँ रहेको छ।







