काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरको ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। दोलखा जिल्लाको बिगु नगरपालिका ८ तथा कालिन्चोक गाउँपालिका १ र २ का बासिन्दाले उक्त सेयरका लागि आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँबराबरको ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन अवधि छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म रहनेछ। आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी छ। परियोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र छुट दरमा गणना गरिएको लगानी फिर्ता अवधि १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड लाई दिइएको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावरको कार्यालय, बिगु गाउँपालिका–८, नेपाल बैंक लिमिटेड, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड को सिङ्गटी शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न स्थानीयले २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।







