काठमाडौँ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले फागुन १३ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि ८२ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो। यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि कम्पनीले माघ १९ गते नेपाल धितोपत्र बोर्डबाट कुल १३ करोड ७५ लाख रुपैयाँ बराबरको, प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो।

कम्पनीको कुल जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र—दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं। ८ तथा कालिन्चोक गाउँपालिका वडा नं। १ र २ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

बाँकी रहेको ८ लाख २५ हजार कित्तामध्ये केही हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो। यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गतेसम्म खुला रहने जनाइएको छ।