काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आगामी चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री खुला गरिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ७ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख कित्ता साधारण शेयर छुट्याइएको छ। उक्त शेयरका लागि जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७, सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने २ करोड १० लाख रुपैयाँ बराबरको २ लाख १० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको उक्त शेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा चैत २२ गते बन्द हुनेछ भने आवश्यक परेमा ढिलोमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ छिटोमा चैत ११ गते बन्द हुने र ढिलोमा चैत २२ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले सिन्धु विकास बैंक तथा कुमारी बैंकको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, इच्छुक स्थानीय लगानीकर्ताले आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत सि–आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।







