काठमाडौं । बजारमा एलपी ग्यासको माग अचानक बढेपछि आपूर्तिमा दबाब परेको भन्दै नेपाल आयल निगमले बजार व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास मात्रै वितरण गर्ने निर्णय गरेको जनाएको छ।
निगमका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न पाउनेछन्। यसका लागि मूल्य पनि साविकको सिलिन्डरको तुलनामा आधा नै निर्धारण गरिएको निगमले जनाएको छ।
निगमका अधिकारीहरूका अनुसार पछिल्ला दिनहरूमा बजारमा ग्यासको माग उल्लेख्य रूपमा बढेको छ भने आपूर्ति व्यवस्थापनमा केही समस्या देखिएको छ। यस्तो अवस्थामा ग्यासको उपलब्धता धेरैभन्दा धेरै उपभोक्तासम्म पुर्याउने उद्देश्यले आधा सिलिन्डर वितरण गर्ने निर्णय गरिएको हो।
निगमको अनुसार यसअघि एक पटकमा १ हजार उपभोक्ताले ग्यास पाउने अवस्थामा अब करिब २ हजार उपभोक्तासम्म ग्यास पुग्ने सम्भावना रहनेछ। यसले बजारमा देखिएको असन्तुलन घटाउन र उपभोक्तालाई न्यूनतम आवश्यक ग्यास उपलब्ध गराउन सहयोग पुग्ने निगमको भनाइ छ।
निगमले अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि कम हुने अपेक्षा गरेको छ। आधा सिलिन्डर मात्रै वितरण गर्दा घरघरमा आवश्यकताभन्दा बढी ग्यास संचित गर्ने प्रवृत्ति घट्ने र बजारमा ग्यासको नियमित आपूर्ति कायम गर्न सहयोग पुग्ने निगमको विश्वास छ।
निगमका अनुसार यो व्यवस्था अस्थायी बजार व्यवस्थापन उपाय का रूपमा लागू गरिएको हो। आपूर्ति स्थिति सामान्य बनेपछि वितरण प्रणालीलाई पुनः नियमित अवस्थामा फर्काइने सम्भावना रहेको जनाइएको छ। निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र आवश्यकताअनुसार मात्रै खरिद गर्न आग्रह गर्दै बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको पनि जनाएको छ।






