काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का मुख्य जाडो महिनाहरूमा खाना पकाउने एलपी ग्यासको आयात अपेक्षाकृत घट्दा त्यसको प्रभाव बजारमा अझै कायम देखिएको छ।

भन्सार विभागका अनुसार चालु आवको फागुन महिनामा मात्रै ५१ हजार १ सय ९२ टन ग्यास आयात भएको छ, जुन पछिल्ला तीन महिनामध्ये सबैभन्दा उच्च हो। यसअघि पुसमा ४७ हजार ४ सय ६० टन र माघमा ४६ हजार २ सय ८५ टन ग्यास भित्रिएको थियो।

यद्यपि, जाडो याममा ग्यासको खपत उल्लेख्य रूपमा बढ्ने हुँदा मासिक माग करिब ४९ हजार ५ सय टनसम्म पुग्ने गर्छ। तर पुस र माघ महिनाको आयात तथ्यांकले बजारको मागअनुसार आपूर्ति हुन नसकेको संकेत गरेको छ। विशेषगरी माघमा मात्रै मागको तुलनामा करिब ३ हजार २ सय टन कम ग्यास आयात भएको देखिन्छ।

पश्चिम एसियामा जारी तनावका कारण आपूर्ति शृङ्खला प्रभावित हुँदा उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन नसकेको अवस्था छ। यही कारण नेपाल आयल निगमले फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था लागू गरेको छ।

अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा पनि यस वर्ष पुस र माघमा आयात केही कमजोर देखिएको छ। गत वर्ष पुसमा ४७ हजार ६ सय ८३ टन आयात भएकोमा यस वर्ष सोही अवधिमा २ सय २३ टन कम आएको छ। त्यस्तै, गत वर्ष माघमा ४८ हजार ८ सय ८४ टन आयात भएकोमा यस वर्ष माघमा २ हजार ५ सय ९९ टनले कमी आएको छ।

तर फागुन महिनामा भने आयातको अवस्था सुधारिएको छ। गत वर्ष फागुनमा ४७ हजार ७ सय ५४ टन आयात भएकोमा यस वर्ष सोही महिनामा ३ हजार ४ सय ३८ टनले वृद्धि भई ५१ हजार १ सय ९२ टन पुगेको छ। चालु आवको फागुन मसान्तसम्म कुल ३ लाख ७२ हजार २ सय ८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिको ३ लाख ६२ हजार ९५ टनको तुलनामा १० हजार १ सय ८७ टनले बढी हो।