काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको ठूलो मूल्यवृद्धि प्रति आपत्ति जनाउँदै सरकारसँग तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग गरेको छ।
नेपाल आयल निगमले डिजेलको मूल्य प्रति लिटर १० रुपैयाँ र पेट्रोलको मूल्य १५ रुपैयाँ बढाउने निर्णय गरेपछि महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर चिन्ता व्यक्त गरेको हो। महासंघले मूल्यवृद्धिले यातायात व्यवसायी र साधारण यात्रुहरू दुवैमा प्रत्यक्ष असर पर्ने बताएको छ।
महासंघका महासचिव डकनाथ गौतमले सार्वजनिक यातायात इन्धनमा पूर्ण रूपले निर्भर रहेकाले मूल्य परिवर्तनले यातायात व्यवसायमा ठूलो प्रभाव पारेको छ।
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि, २०७८ साल फागुन २२ गतेदेखि कुनै भाडा समायोजन नगरेको भन्दै महासंघ असन्तुष्ट छ।
महासंघले १३ वटा सवारी सम्बन्धी सूचकलाई आधार मान्दै २०६५ सालमा तयार गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।
संघीय रुटका लागि यातायात व्यवस्था विभाग, र प्रदेश स्तरका रुटका लागि सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी भाडा समायोजन गर्न महासंघले अनुरोध गरेको छ।
साथै, यातायात व्यवसायीहरूले निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण, पेट्रोलियम पदार्थको खपत व्यवस्थापन र वैज्ञानिक तरिकाले सहज आपूर्ति सुनिश्चित गर्न समेत सरकारसँग आग्रह गरेका छन्।








