काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रत्यक्ष प्रभावसँगै नेपालमा पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। विश्व बजारमा मूल्य घट्दै जाँदा त्यसको असर घरेलु बजारमा देखिएको हो।
नेपालमा आज एकैदिन सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्दै दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, ब्याजदरसम्बन्धी नीतिगत परिवर्तन र लगानीकर्ताको प्राथमिकतामा आएको बदलावले सुनको मूल्यमा दबाब परेको जानकारहरुको धारणा छ ।
यता चाँदीको मूल्य पनि घट्ने क्रममै देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
सुन तथा चाँदी दुवै धातुको मूल्यमा आएको यो गिरावटले उपभोक्तालाई केही राहत दिएको भए पनि व्यवसायीहरू भने बजारमा माग घट्ने र अनिश्चितता बढ्ने चिन्तामा छन्।







