काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकामा सडक निर्माणका क्रममा अनियमितता गरेको ठहर गर्दै पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी मानबहादुर बोहराविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध जनही ८ लाख ४८ हजार ९६२ रुपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियारका अनुसार बित्थडचिर गाउँपालिका–९ स्थित बागथला–धारी डोबा सडक निर्माण योजनामा ग्याबिन तथा मेशनरी कार्य नगरी सम्पन्न भएको देखाई भुक्तानी लिएको पाइएको छ। प्रारम्भिक उजुरीपछि गरिएको अनुसन्धानमा वास्तविक कामभन्दा कम काम गरी झुट्टा बिल तथा प्राविधिक प्रतिवेदन तयार पारेर रकम निकासा गरिएको पुष्टि भएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा नापी किताबमा ३३८ मिटर सिँचाइ क्यानल निर्माण भएको उल्लेख गरिए पनि स्थलगत निरीक्षणमा मात्र २४८ मिटर निर्माण भएको भेटिएको छ। साथै, ह्युम पाइप कल्भर्टलगायतका केही संरचना निर्माण नै नगरी कागजमा मात्र देखाइएको समेत पाइएको छ।

आयोगले यसरी मिलेमतोमा झुट्टा कागजात तयार गरी ८ लाख ४८ हजार ९६२ रुपैयाँभन्दा बढी रकम भुक्तानी लिई–दिई नेपाल सरकारलाई हानि पुर्‍याइएको निष्कर्ष निकालेको छ। उक्त प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको अख्तियारले जनाएको छ।