काठमाडौँ। सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले आजसम्म मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको हो।

कम्पनीलाई कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर अर्थात् ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति प्राप्त भएको हो। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ।

त्यसैगरी, कुल निष्कासित सेयरमध्ये ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आईपीओको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा एनएमबि क्यापिटल लिमिटेडले लिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू वा ‘मेरो सेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।