काठमाडौँ। बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले जारी गरेको आईपीओमा आवेदन दिने आज (चैत १५) अन्तिम दिन हो। कम्पनीले चैत १ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर खुला गरेको थियो। यस अन्तर्गत स्थानीयले आजसम्म मात्र आवेदन दिन पाउनेछन्।

यसअघि कम्पनीले माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट कुल जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँको आईपीओ निष्कासन अनुमति पाएको थियो। सोअनुसार १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता सेयर जारी गरिएको हो।

जारी गरिने सेयरमध्ये १० प्रतिशत अर्थात १० लाख ४० हजार कित्ता पहिलो चरणमा स्थानीयका लागि छुट्याइएको छ। यसमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का अत्यधिक प्रभावित बासिन्दालाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत), वडा नम्बर ५, ६, ७ र ११ का प्रभावित क्षेत्रका बासिन्दालाई ३ लाख १२ हजार कित्ता (३० प्रतिशत) र अन्य कम प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ८ हजार कित्ता (२० प्रतिशत) सेयर छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि एनएमबी बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा तथा प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा तोकिएका छन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापन एनएमबी क्यापिटल लिमिटेडले गरिरहेको छ। पहिलो चरण सकिएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिने कम्पनीले जनाएको छ।