काठमाडौं। सोपान फर्मास्यूटिकल्स लिमिटेडले आगामी बैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा आम लगानीकर्तामाझ आईपीओ ल्याउन लागेको हो।
कम्पनीले १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर अर्थात् ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरेको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूलाई छुट्याएर वितरण गरिसकिएको छ।
त्यस्तै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। अब बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा मागअनुसार आवेदन नपरेमा आवेदन अवधि बैशाख १६ गतेसम्म थपिने कम्पनीले जनाएको छ।
यस निष्काशनको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर मार्फत सि–आस्बा प्रणालीबाट अनलाइन आवेदन गर्ने सुविधा पनि उपलब्ध हुनेछ।







