काठमाडौँ। स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिने म्याद आज सकिँदैछ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १८ लाख ७५ हजार कित्ता सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते स्वीकृति पाएको थियो। सोमध्ये पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता छुट्याइएको थियो। विदेशमा रहेका नेपालीका लागि खुला गरिएको आवेदन भने चैत १२ गतेमै बन्द भइसकेको छ।
प्रभावित क्षेत्रका लागि छुट्याइएको सेयरमध्ये ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–८ का अत्यधिक प्रभावित बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता प्रदान गरिएको छ। बाँकी समान परिमाणको सेयर सोही गाउँपालिकाका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका–५ र ६, पाथीभरा याङवरक गाउँपालिका–५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका–१ का स्थानीयका लागि छुट्याइएको छ।
यस आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ।
इच्छुक आवेदकहरूले काठमाडौँको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा–८ याम्फुदिनमा रहेको आयोजना स्थल, नेपाल बैंक लिमिटेडको सिरिजङ्गा शाखा तथा एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकका फुङलिङ शाखाबाट आवेदन फाराम लिएर बुझाउन सक्नेछन्।







