काठमाडौं। नेपाल स्टक ब्रोकर एशोसिएशनले आगामी बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा सुनिश्चित गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आग्रह गरेको छ। एशोसिएशनका प्रतिनिधिहरूले अर्थ मन्त्रालयमा भएको भेटमा पुँजी बजार सुधारसँग सम्बन्धित ६ बुँदे प्रस्तावसमेत पेश गरेका हुन्।

सोमबार बिहान मन्त्रालयमा भएको छोटो छलफलका क्रममा एशोसिएशनले लगानीकर्ताको विश्वास बढाउने र बजारलाई व्यवस्थित बनाउने उद्देश्यले तयार गरिएको ज्ञापनपत्र अर्थमन्त्रीलाई बुझाएको जनाएको छ। उनीहरूले विशेषगरी पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा स्पष्ट घोषणा गर्न र ‘अक्सन मार्केट’ तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

एशोसिएशनले कर नीतिमा स्पष्टता ल्याई लगानीकर्तामा रहेको अन्योल हटाउनुपर्ने, सेयर हस्तान्तरणमा समस्या आउँदा लाग्ने ‘क्लोज आउट’ जरिवाना न्यूनीकरण गर्न अक्सन प्रणाली सुरु गर्नुपर्ने, तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहज पहुँच दिनुपर्ने माग राखेको छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर बजारमा प्रवेश र बहिर्गमन सहज बनाउन हालको ‘होल्डिङ पिरियड’ सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने, लामो समयदेखि कार्यान्वयनमा नआएको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’लाई तत्काल लागू गर्नुपर्ने, र पुँजी बजार सुधार कार्यदलका बाँकी सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने विषय पनि उठाइएको छ।

एशोसिएशनका महासचिव मुक्तिराम घिमिरेसहितको टोलीले लाखौं लगानीकर्ता र ब्रोकरहरूको प्रतिनिधित्व गर्दै बजारका वर्तमान चुनौतीबारे जानकारी गराएको थियो। जवाफमा अर्थमन्त्री डा। वाग्लेले प्रस्तुत मागहरूबारे अध्ययन गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।