काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ को अवसरमा प्रेस स्वतन्त्रताको महत्त्व उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

उनले लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र र निर्भय प्रेस भएको उल्लेख गर्दै बदलिँदो समयसँगै सूचना संकलन र सत्यको खोजी गर्ने कार्य थप चुनौतीपूर्ण बन्दै गएको बताए। विभिन्न प्रकारका असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीहरूको भूमिकाप्रति उनले सम्मान व्यक्त गरेका छन्।

नेता थापाले प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकको जान्न पाउने अधिकारको रक्षा गर्ने माध्यम भएको स्पष्ट पारे। सत्य लेखेकै आधारमा कसैले डराउन नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन्।

उनले यस अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।