काठमाडौं । पश्चिम एसियामा बढ्दो द्वन्द्वको प्रभाव नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ । पर्वतारोहण र पदयात्राका लागि महत्वपूर्ण मानिने अप्रिल महिनामै पर्यटक आगमन घटेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा कुल १ लाख ७ हजार ९३४ विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७.३ प्रतिशतले कम हो । सन् २०२५ अप्रिलमा १ लाख १६ हजारभन्दा बढी पर्यटक आएका थिए भने कोभिडअघि सन् २०१९ मा यो संख्या करिब १ लाख ९ हजार थियो ।
क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा बढी पर्यटक आएका छन् । सार्क क्षेत्रबाट मात्र ३३ हजारभन्दा बढी आगमन भएको छ, जुन कुलको झन्डै एकतिहाइ हो । त्यस्तै अन्य एसियाली देश, युरोप, अमेरिका र ओसिनियाबाट पनि उल्लेख्य संख्यामा पर्यटक आएका भए पनि केही क्षेत्रबाट आगमनमा कमी देखिएको छ ।
देशगत रूपमा हेर्दा भारतपछि चीन दोस्रो ठूलो स्रोत बजार बनेको छ । यसैगरी अमेरिका, बंगलादेश, बेलायत, जर्मनी र मलेसियाबाट पनि उल्लेख्य पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार पश्चिम एसियामा जारी तनावका कारण हवाई मार्गमा समस्या, अन्तर्राष्ट्रिय प्रवर्द्धनमा प्रभाव र यात्रामा अनिश्चितता बढ्दा पर्यटक आगमन प्रभावित भएको हो ।
आगामी दिनमा पर्यटन वृद्धि गर्न डिजिटल प्रचार–प्रसारलाई बलियो बनाउने, नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने तथा नयाँ रणनीति अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।







