काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। कम्पनीको आम्दानीसँगै खुद नाफामा पनि उल्लेख्य वृद्धि भएको छ।

समीक्षा अवधिसम्म कम्पनीले २९ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड २ लाख रुपैयाँको तुलनामा ४२.३३ प्रतिशतले बढी हो।

विद्युत बिक्रीबाट हुने आम्दानीमा समेत वृद्धि देखिएको छ। उक्त आम्दानी ११.४५ प्रतिशतले बढ्दै ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५५ करोड ८७ लाख रुपैयाँ रहेको थियो। साथै, कम्पनीले अन्य शीर्षकबाट १७ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ।

यद्यपि, वित्तीय आम्दानी भने घटेको छ। अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा ३८ लाख ८८ हजार रुपैयाँमा सीमित भएको छ।

खर्चतर्फ प्रशासनिक तथा साधारण खर्च ९ करोड ९३ लाख रुपैयाँबाट बढेर १२ करोड १५ लाख रुपैयाँ पुगेको छ। वित्त खर्च पनि ६१ लाख ४० हजार रुपैयाँबाट बढ्दै १ करोड २५ लाख रुपैयाँ पुगेको देखिन्छ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड रुपैयाँ तथा चालु दायित्व १५ करोड ५९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.७८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २१०.३३ रुपैयाँ कायम भएको छ। मूल्य–आम्दानी अनुपात ८१.४२ गुणा र तरलता अनुपात ६.८१ प्रतिशत रहेको कम्पनीले जनाएको छ।