काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै दीर्घकालीन वित्तीय आधार अझ सुदृढ भएको देखाएको छ।
समीक्षा अवधिसम्म कम्पनीको बीमा कोष उल्लेखनीय रूपमा बढेर ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँको तुलनामा यो ४५.१४ प्रतिशतले वृद्धि हो, जसले कम्पनीको दीर्घकालीन दायित्व वहन क्षमता बलियो हुँदै गएको संकेत गर्छ।
कम्पनीको कुल इक्विटी संरचनामा पनि सुधार देखिएको छ। शेयर प्रिमियम, विशेष कोष तथा अन्य इक्विटीमा स्थिरता र वृद्धि कायम रहँदा कम्पनीको वित्तीय आधार मजबुत बनेको छ।
व्यवसायिक पक्षमा कुल बीमाशुल्क संकलन करिब स्थिर रहँदै २ अर्ब १२ करोड ५९ लाख रुपैयाँ कायम भएको छ भने खुद बीमाशुल्क पनि करिब अघिल्लो वर्षकै स्तरमा रहँदै १ अर्ब २२ करोड ७० लाख रुपैयाँ रहेको छ। यसले बजारमा कम्पनीको स्थिर उपस्थिति झल्काउँछ।
यद्यपि नाफा केही घटेर १६ करोड ३९ लाख रुपैयाँमा सीमित भए पनि कम्पनीको दीर्घकालीन वित्तीय संरचना र बीमा कोषको वृद्धि भविष्यमा थप सुदृढ प्रदर्शनको आधारका रूपमा देखिएको छ।
वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ २२३.११ रुपैयाँ र पीई अनुपात ३६.०७ गुणा कायम रहेको छ। ईपीएस भने १७.७४ रुपैयाँ रहेको छ।







