काठमाडौं । निर्माण सामग्री तथा इन्धनको निरन्तर मूल्यवृद्धि नियन्त्रण गर्न सरकार उदासीन भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ। महासंघले देशभर चरणबद्ध रूपमा विरोधका कार्यक्रम सुरु गरेको हो।

महासंघका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन, ढुवानी, निर्माण सामग्री तथा श्रम लागतमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको छ। समस्याको समाधानका लागि सरकार तयार नभएपछि दबाब स्वरूप आन्दोलन सुरु गरिएको बताइएको छ।

कार्यक्रमअन्तर्गत बिहीबार एशोसिएट सदस्य समन्वय समितिले सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिएको छ।

समितिका संयोजक नवराज श्रेष्ठले मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

त्यसैगरी महासंघअन्तर्गतका ७७ जिल्ला निर्माण व्यवसायी संघहरूले पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएका छन्। महासचिव शिवहरि घिमिरेका अनुसार अबका दिनमा जिल्लास्तरीय पूर्वाधार तथा विकास कार्यालयहरूमा पनि ज्ञापनपत्र बुझाउने र धर्ना कार्यक्रम जारी रहनेछ।

महासंघका अनुसार आन्दोलन कार्यक्रमअन्तर्गत प्रदेशस्तरमा पनि मुख्यमन्त्री कार्यालयमार्फत दबाब दिने तयारी गरिएको छ।