काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच नगदविहीन बीमा दाबी सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ।
काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिले औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतामा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभराज थपलिया र इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ सहभागी थिए।
यस सहकार्यपछि टाटा मोटर्सका सवारी प्रयोगकर्ताले दुर्घटनापछि बीमा दाबी प्रक्रिया झन्झटबिनै र छिटो सम्पन्न गर्न सक्ने लक्ष्य राखिएको छ।
यसअघि पनि सिप्रदीले विभिन्न बीमा कम्पनीहरूसँग यस्तै प्रकारको नगदविहीन दाबी सेवा सम्बन्धी सहकार्य गर्दै आएको छ। कम्पनीका अनुसार हालसम्म ३ हजारभन्दा बढी ग्राहकले यस्तो सेवाबाट लाभ लिइसकेका छन्।
आगामी दिनमा अझ धेरै ग्राहकलाई सहज र छिटो सेवा प्रदान गर्ने योजना रहेको कम्पनीले जनाएको छ।







