काठमाडौंः बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले उक्त तरलताको व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

आज मंगलबार माघ ९ उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले एक सूचना मार्फत जानकारी दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने केन्द्रीय बैंकको जानकारी छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ २३ गतेलाई निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।